काठमाडौं, भदौ २९ । भदौ २७ गते सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जनकपुर पुगेका थिए । विभिन्न पार्टीका स्थानीय नेता र कार्यकर्तालाई आफ्नो पार्टीमा भित्र्याउन ।
त्यस क्रममा भाषण ठोक्दै उनले दुई वटा महत्वपूर्ण कुरा भने । पहिलो, राष्ट्रपति भवनमा थन्किएको नागरिकतासम्बन्धी विधयेक राष्ट्रपतिले अनुमोदन गरुन् भन्ने पक्षमा उनी छैनन् । दोस्रो, आगामी संसदीय निर्वाचनमा धनुषा क्षेत्र नम्बर - ३ बाट आफ्नो पार्टीको उम्मेदवार उतार्ने ।
धनुषा ३ बाट लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो मौजुदा सांसद् छन् । महतो फेरि पनि त्यही निर्वाचन क्षेत्रबाट चुनाव लडेर संघीय संसदमा पुग्न चाहन्छन् ।
ओलीको उक्त घोषणाले महन्थ ठाकुरको लोसपा र उनको नेकपा एमालेबीच चुनावी गठजोडको सम्भावना क्षीण बन्दै गएको संकेत गर्दछ । कथ्मकदाचित् दुई पार्टीबीच मधेश प्रदेशमा चुनावी तालमेल भयो भने ओलीले महतोका लागि धनुषा ३ को चुनावी मैदान खाली गरिदिने यत्तिकै अनुमान लगाउन सकिन्छ ।
यदि ओली र ठाकुरबीच तालमेलको कुरा मिलेन भने राजेन्द्र महतोले कति धेरै चुनौतीको सामना गर्नुपर्छ । उनलाई कति फरक पर्छ ?
राजेन्द्र महतो कुन जिल्लाको कुन क्षेत्रबाट चुनाव लड्छन् भन्ने विषयमा धेरैले भ्रमको खेती गर्न खोजे । तर महतो धनुषा ३ बाट नै फेरि चुनाव लड्नेमा अब कुनै भ्रम रहेन ।
उनको लागि पहिलो खुसीको खबर विमलेन्द्र निधिले दिए । निधि गत निर्वाचनका महतोका निकटतम प्रतिद्वन्द्वी हुन् । महतोले ३० हजार ७४२ मत ल्याएर विजयी हुँदा निधिले झण्डै तीन हजार मतले मात्रै हार बेहोरेका थिए ।
निधिले महतोका लागि धनुषा ३ छाडेर किन समानुपातिकबाट सुरक्षित हुन खोज्दै छन् बुझिनसक्नु छ । हालसालै दुई पटक भारत भ्रमण गरेका निधिले भारतकै चाहनाअनुसार महतोका लागि धनुषा ३ छाड्न लागेको धेरै जनकपुरियाहरुको अनुमान छ ।
भारत भ्रमणलगत्तै निधिले लोसपालाई पाँच दलीय चुनावी गठबन्धनमा छिराउने वकालत पनि गरेका हुन् । उने छिराउने असफल प्रयास पनि गरे । प्रधानमन्त्री देउवा सकारात्मक छन् तर प्रचण्ड र उपेन्द्र यादवको अडानका कारण हालसम्म त्यो प्रयास सफल हुन सकेको छैन । सायद सत्तारुढ दलहरुलाई आफैँ निर्वाचन क्षेत्रको संख्या अपुग भएर होला ।
समानुपातिकमा जाने निधिको घोषणाले महतोलाई सजिलो बनाइदिएको छ । यस्तै घोषणा ओलीले पनि भदौ २७ गतेको आफ्नो जनकपुरको भाषणमा गरेको भए महतोलाई यतिखेरै विजयी माला पहिराउन सकिन्थ्यो । तर ओलीले महतोका लागि यत्तिकै मैदान खाली नछाड्ने घोषणा गरेपछि अबको प्रतिस्पर्धा महतो र सत्तारुढ गठबन्धनको कुनै अमुक एवं कमजोर उम्मेदवारबीच मात्र नहुने स्पष्ट भएको छ ।
एमाले धनुषा जिल्ला समितिले धनुषा ३ बाट पोलिटब्यूरो सदस्य जुली कुमारी महतोलाई एकल उम्मेदवार सिफारिस गरिसकेको छ । जुली महतो अघोषित अर्बपति उपेन्द्र महतोकी बहिनी मात्र होइनन् । धनाढ्य एमाले नेता रघुवीर महासेठकी धर्मपत्नी पनि हुन् । उनी सांसद् र मन्त्री पनि भइसकेकी छिन् ।
राजेन्द्र महतोको विरुद्धमा जुली महतो चुनावी मैदानमा ओर्लिने शंखघोष ओलीले गरिसकेपछि अबको प्रतिस्पर्धा त्रिकोणात्मक हुने निश्चित छ ।
धनुषा ३ मा जनकपुर उपमहानगरका २५ मध्ये १७ वडा, नगराइन नगरपालिका र विदेह नगरपालिकाका एउटा वडा र दुई गाउँपालिका पर्छन् । जनकपुरसहितको यो निर्वाचन क्षेत्रलाई विमलेन्द्र निधिको पुस्तैनी क्षेत्र मानिन्छ ।
तर जनकपुर उपमहानगरपालिकाजस्तै यो निर्वाचन क्षेत्र पनि साह बहुल क्षेत्र हो भन्ने मनोविज्ञान मतदातादेखि नेतासम्ममा परिसकेपछि निधि त्यस क्षेत्रबाट चुनाव लड्न हच्किन थालेका छन् । धनुषा ३ बाट जित्ने भनेको कुनै साह समुदायकै उम्मेदवारले हो भन्ने मनोविज्ञान बलियो भएपछि नै सर्लाहीको आफ्नो असजिलो गृह निर्वाचन क्षेत्र छाडेर राजेन्द्र महतोले धनुषा ३ रोजेका हुन् ।
धनुषा ३ बाटै फेरि चुनाव लड्छु र जित्छु भन्ने अड्डीका साथ राजेन्द्र महतो जनकपुरमा अड्डा जमाएर बसेका छन् । तर यस पटक महतोले जित्छन् कि अरु कोही भन्ने प्रश्न सबभन्दा चाखलाग्दो र कौतुहलपूर्ण बनेको छ ।
त्यस क्षेत्रबाट सत्तारुढ गठबन्धनबाट कांग्रेस वा जसपामध्ये कुन पार्टीबाट को उम्मेदवार हुन्छन् त्यो अहिलेसम्म स्पष्ट छैन । तर जो उम्मेदवार भएपनि सबभन्दा अग्ला र चर्चित उम्मेदवार राजेन्द्र महतो नै हुन् ।
जुली महतोले उनलाई कडा टक्कर दिन सक्छिन् । साह समुदायसहितका अधिकांश मतदाताले जुली महतोलाई जिताउन चाहे भने परिणाम राजेन्द्र महतोले नसोचेजस्तो आउन सक्छ । तर जितको पल्ला अहिलेसम्म राजेन्द्र महतोतिरै ढल्केको छ ।
सत्तारुढ गठबन्धनबाट यादव समुदायबाट कुनै शानदार उम्मेदवार मैदानमा उतारिए प्रतिस्पर्धा झनै रोचक हुन सक्छ । किनभने त्यस क्षेत्रको दोस्रो ठूलो मतदाता यादव हो । त्यसमा पनि त्यस क्षेत्रको ग्रामीण भेगमा जातिगत हिसाबले सबभन्दा ठूलो मतदाता यादव हो ।
दुवै महतोबीच साह समुदायका मतदाताको मत बाँडिए भने सत्तारुढ गठबन्धनको अमुक उम्मेदवारले जित्न बेर छैन । तर अहिलेसम्मको लेखाजोखामा राजेन्द्र महतोलाई अग्रता हासिल छ भन्नेमा कुनै शंका छैन ।