वीरगञ्ज, २३ साउन । भोजपुरी साहित्यकार दिनेश गुप्ताद्वारा लिखित दुई वटा पुस्तकको विमोचन गरिएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलगायतले सयुक्त रुपमा गुप्ताद्वारा लिखित भोजपुरी गजल संग्रह ‘सुतल अब ठीक नइखे’ र भोजपुरी हाइकु संग्रह ‘हिरोशिमा’ को विमोचन गर्नुभएको हो ।
नेपाल भोजपुरी समाज वीरगञ्जका अध्यक्ष ध्रुवसिंह ठकुरीको अध्यक्षतामा भएको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले साहित्य समाजको ऐना भएको बताउनुभयो ।
समाजमा व्याप्त कुरीति, कुसंस्कार एवं अनियमिततालाई उजागर गरेर समाज रुपान्तरणमा साहित्यले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको मुख्यमन्त्री राउतको बुझाइ छ ।
समाजको यथार्थलाई चित्रण गरेर परिवर्तनका लागि कलम चलाउन आग्रह गर्दै उहाँले भोजपुरी भाषाको संरक्षणका लागि यही आर्थिक वर्षदेखि प्रदेश सरकारले १ करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने उद्घोष गर्नुभयो ।
भोजपुरी भाषामाथि मिथिला भाषा हाबी हुँदै गएको भन्दै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले चिन्ता व्यक्त गर्नुभयो । भोजपुरी भाषाको संरक्षण एवं सम्वद्र्धनका लागि थुप्रै संघ संस्थाहरु भएपनि सन्तोषजनक काम गर्न नसकेको मेयर सिंहको भनाइ छ ।
भोजपुरी भाषा र संस्कृतिको संरक्षण एवं सम्वद्र्धनका लागि महानगरपालिका सँधै तत्पर रहेको सिंहले बताउनुभयो ।
पुस्तक विमोचन समारोहलाई साहित्यकार एवं नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठ, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ता, भोजपुरी प्रतिष्ठान वीरगञ्जका अध्यक्ष उमाशंकर द्विवेदी, प्राध्यापक डा. दीपक शाक्य, डा. विशम्भर शर्मालगायतले सम्वोधन गर्दै भोजपुरी भाषा र साहित्यको प्रवद्र्धन गर्नुपर्ने धारणा राख्नुभयो ।