(सप्तरी, लालापट्टीका उमेश कुमार यादव ज्यानको बाजी लगाएर जनयुद्धमा होमिनुभयो । जनक्रान्तिमा भूमिगत रहँदा पटक पटक उहाँ मारिनबाट जोगिनुभयो । माओवादी पार्टीबाट हजारौं नेता र कार्यकर्ता बाहिरिए । तर उहाँ जनयुद्ध कालदेखि नै दुःख सुख भोग्दै र संघर्ष गर्दै अविच्छिन्न रुपमा माओवादी पार्टीमै आबद्ध हुनुहुन्छ । उहाँ विकासप्रेमी एवं जनाधार भएको नेता मात्र हुनुहुन्न । उहाँ जत्तिकै लडाकू हुनुहुन्छ, उत्तिकै बौद्धिक पनि हुनुहुन्छ ।
सप्तरीको कुनै पनि निर्वाचन क्षेत्रबाट चुनाव लड्न सक्ने र जित्न सक्ने हैसियत भएको नेता सप्तरीको माओवादी पार्टीमा उहाँ मात्रै हुनुहुन्छ । तर उहाँ पछिल्लो केही समयदेखि आफ्नो पार्टी नेतृत्व र उनीहरुको कार्यशैलीदेखि असन्तुष्ट हुनुहुन्छ । त्यसैको प्रतिवादमा उहाँले गत बिहीबार माओवादी पार्टीको सप्तरी जिल्ला कमिटिको विस्तारित बैठक बोलाउनुभयो र आफ्नो नेतृत्वमा समानान्तर कमिटि गठन गर्नुभयो । जसलाई उहाँले मूल प्रवाह कमिटि भन्नुहुन्छ । यहाँ प्रस्तुत छ पूर्व सिचाईंमन्त्री यादवसँग द बार्दलीले गरेको कुराकानी जस्ताको त्यस्तै ।)
काठमाडौं, बैशाख १७ गते । सप्तरी जिल्लामा हामीले गठन गरेको कमिटि पार्टीको मूल प्रवाह हो । जिल्लाका ८० प्रतिशत नेताकार्यकर्ता यता छन् । २० प्रतिशत जता छन् त्यो मूल कमिटि हुन्छ र ?
अहिले मधेश प्रदेशमा जुन कार्यविभाजन गरिएको छ, त्यो अवैज्ञानिक तरिकाले गरिएको छ । मधेश प्रदेशमा लामो समयदेखि माओवादीभित्र देखिएको समस्यालाई समाधान गर्नुभन्दा पनि त्यसलाई थामथुम गर्नु, मधेश प्रदेशमा पदाधिकारीमा रहेका नेताहरुसँग जोडिएका नेताहरुको गुट व्यवस्थापन गर्नुबाहेक पार्टी र संगठन निर्माणमा कुनै ध्यान दिइएन । त्यसैले धेरै नेताकार्यकर्ता निष्किृय भएर बसेका छन् । धेरै जना आवेग, आक्रोश र कुन्ठामा छन् । धेरै निरास छन् । जब कि माओवादी पार्टी र माओवादी जनयुद्ध आजको परिवर्तनको मुख्य संवाहक हो । यसमा दुई मत छैन । माओवादी पार्टीको गौरवशाली इतिहास छ ।
यति ठूलो गौरवशाली इतिहास बोकेको पार्टी र ठूलो योगदान दिएको पार्टीको हाल बेहाल किन छ ? यस विषयमा गम्भीर प्रश्न छ । १५ वर्षअघि जहिले पार्टी एकता भयो त्यसबेलादेखि निरन्तर रुपमा विश्वनाथ साह जिम्मेवारीमा छन् । पार्टीभित्रको बेहाल अवस्थाको उनले जिम्मा लिनुपर्छ कि पर्दैन ? कुनै बेला आफू मन्त्री बने । कुनै बेला श्रीमतिलाई सांसद बनाए । कुनै बेला भतिजीलाई सांसद बनाए ।
सप्तरीमा एक जना नेताले कुनै बेला आफू सांसद बन्छन् । अर्कोचोटि श्रीमतिलाई सांसद बनाउँछन् । यस्तो प्रवृति पार्टीभित्र देखा पर्यो । राजामहाराजाको परिवारको बारेमा प्रश्न उठाउन नपाइने थियो भनेजस्तै यी नेताहरुबारे त्यसरी नै प्रश्न उठाउन नपाइने ?
पार्टीभित्र आन्तरिक लोकतन्त्र मरेको छ । पार्टी कम्पनी जस्तो र नेताहरु सम्बन्धित कमिटिका सिइओजस्तो भएका छन् । यो बेठिक हो ।
बि.स. २०६४ सालमा निर्वाचित संविधानसभा सफल हुन सकेन । प्रतिक्रियावादीहरुले अदालतको आडमा संविधानसभा विघटन गरे । संविधानसभाबाट संविधान बनाउने माओवादीको एजेण्डा कार्यान्वयन भएन । अनि दोस्रो संविधानसभाको कुरा आउँदा पार्टीले दुई तिहाईको नारा दियो । पार्टीलाई दुई तिहाई प्राप्त हुन्छ त्यसपछि मात्रै जनताको संविधान बन्छ भनियो ।
सप्तरीमा माओवादी पार्टीको निरन्तर नेतृत्वमा रहेको व्यक्ति अन्तरिम संसदको सांसद बनेका थिए । बि.सं २०६४ सालको संविधानसभा निर्वाचनमा आफू हारे पनि आफ्नो श्रीमतिलाई सांसद बनाए । बि.स. २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा आफू प्रत्यक्षमा टिकट नपाएपछि र उनको श्रीमतिले समानुपातिकमा सांसद हुने सम्भावना नदेखेपछि तत्कालीन मधेशी जनअधिकार फोरममा गए । फोरमले पनि उनलाई टिकट दियो । उनले चुनाव हारे । तैपनि फोरमले उनको श्रीमतिलाई सांसद बनायो ।
बि.स. २०७४ मा फोरमले टिकट नदिएपछि बि.स. २०७९ मा उनी माओवादीमा फर्किए । माओवादीको सप्तरी जिल्लाको नेतृत्वमा म हुँदा त्यो अवसर उनले फेरि नपाउँदा उनले पार्टीविरुद्ध षड्यन्त्र गर्न थाले । त्यस्तो व्यक्तिलाई अहिले जिल्ला इन्चार्ज बनाउँदा कार्यकर्ताहरुले कसरी स्वीकार गर्ने ?
दोस्रो कुरा, बि.स. २०६४ मा मैले भनेको थिएँ । म चुनाव लड्दिनँ । तर जब बाध्य गरियो । अनि मैले तत्कालीन क्षेत्र नम्बर ३ बाट होइन, क्षेत्र नम्बर ४ बाट लड्छु भनेको थिएँ ।
त्यसबेला राजविराजलाई श्वेत इलाका भन्थे फौजी भाषामा । अनि चुनाव लड्दैनौ भने कायर हौ । रणमैदानबाट भाग्दैछौँ भन्दै चुनाव लड्न मलाई बाध्य पारियो ।
सप्तरीको कंचनपुरमा अमर मण्डलको घर छ । त्यस क्षेत्रबाट उनलाई टिकट दिइयो । तर उनी चुनाव लडेनन् । स्वतन्त्र भएर चुनाव लडे । जमानत जफत भयो । पार्टीले साधारण सदस्यबाट निष्काशित गर्यो । त्यही व्यक्तिलाई चुनावलगत्तै फेरि केन्द्रीय सदस्य बनाइयो । यो के हो ? सप्तरीको तिरहुत गाउँपालिकामा माओवादीका तीन जना केन्द्रीय सदस्य छन्, चार जना अन्य नेता छन् । त्यस गाउँपालिकामा पाँच वटा वडा छन् तर त्यस गाउँपालिकामा वडा सदस्यहरुमा समेत माओवादी उम्मेदवारको जमानत जफत भयो ।
पछिल्लो पटक सप्तरीमा एक जनालाई प्रदेश सांसद बनाइयो । मन्त्री बनाइयो । यसपटक उनको बहिनीलाई प्रदेश सांसद बनाइयो । पार्टी नेतृत्वले सहिद परिवारलाई किन देख्नुभएन ? जनयुद्धमा घाइते र अपाङलाई किन अवसर दिइएन ? जेलनेल भोगेका नेतातर्फ किन ध्यान गएन ? अथवा मुस्लिम र दलितलाई किन अवसर दिइएन ? यी प्रश्नहरु मैले पार्टीमा उठाउँदा मलाई नै पार्टीबाट लखेट्ने षड्यन्त्र सुरु भयो ।
नेताहरु चुनाव हारे पनि चोर बाटोबाट राष्ट्रिय सभामा जाने । निरन्तर मन्त्री पदमा रहने । ठूलो नेता हो भने चुनाव नजिते पनि चोर बाटोबाट भएपनि सांसद र मन्त्री बन्ने तर जसको नेतृत्वमा बि.स. २०७० सालमा तीन तीन वटा सिट सप्तरीमा जितेको थियो । जुन अनुमान गरिएको थिएन । त्यस्तो संकटको बेला जसको नेतृत्वमा सप्तरीबाट माओवादी पार्टीले देशलाई सन्देश दिएको थियो । त्यस्तो भूमिका खेल्नेलाई पार्टीबाट लखेट्ने षड्यन्त्र गर्ने ?
जिल्ला इन्चार्ज बनेका व्यक्तिलाई एरिया इन्चार्ज बनाइन्छ । जो उहिले एरिया इन्चार्ज थिए उनलाई जिल्ला इन्चार्ज बनाएर उनको नेतृत्वमा पुरानो जिल्ला इन्चार्जलाई तल काम गर्न लगाइन्छ ।
केन्द्रीय सदस्यहरुलाई एरिया इन्चार्ज बनाइन्छ भने प्रदेश कमिटिका सदस्यहरु कहाँ जान्छन् ? यो नेतृत्व स्थापित गर्ने कुरा हो कि विस्थापित गर्ने कुरा ? नेताका घरपरिवारका लागि कानुन नलाग्ने अनि कार्यकर्ताका लागि कानुन लाग्ने ? यो पार्टीभित्र आन्तरिक लोकतन्त्रको प्रश्न हो ।
पार्टीहरुभित्र जुन वास्तविक लोकतन्त्र हुनुपर्ने हो त्यो लोकतन्त्र नभएकै कारणले संघीय लोकतान्त्रिक गणतन्त्रको बारेमा कैयौं प्रतिक्रियावादीहरुले प्रश्न उठाउने अवसर पाएका छन् । हामी कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिको कुरा गर्छौं तर आफ्नै पार्टी सदस्यहरुबाट तलदेखि माथिसम्म निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य बनाउन पछि हट्छौं । यसरी आफ्नै मूल्यमान्यताबाट पछाडि फर्किएको साबित हुँदैन र ? यी समस्याहरुको समाधानको खोजीमा हामी लागिपरेका छौँ । सप्तरीमा हामीले नयाँ कमिटि बनाउनु जनवादको प्रयोग हो ।
यस कमिटिमा जेल जीवन बिताएका साथीहरु छन् । घाइते साथीहरु छन् । सहिद परिवार छन् । विभिन्न प्रवृतिका साथीहरु छन् । युद्धबाट आएका, शान्तिपूर्ण संघर्षबाट आएका, एमालेलगायतका अन्य पार्टीबाट विद्रोह गरी आएका साथीहरु छन् । सबैका अभिव्यक्ति छन् यसमा ।
हाम्रो कमिटि नै मूल कमिटि हो । यही पार्टी बन्छ । विभिन्न कमिटिहरु बनाएर हामी यसलाई अगाडि बढाएर लग्छौँ । समानान्तर कमिटि होइन, हामी मूल कमिटि हौँ । त्यो व्यवहारमा पनि स्पष्ट हुने छ कि पार्टीका हिस्साहरु कहाँ छन् । कहाँ छैनन् । को कति वटा पालिकामा जान सक्छन्, जान सक्दैनन् । को आफ्नै पार्टीका कार्यकर्ताहरुसमक्ष जान सक्छन्, को जान सक्दैनन् । यो त व्यवहारमा पनि थाहा हुने छ कि को मूल हो, को मूल होइन ।
म त भन्छु सहिद अजबलाल यादव र सहिद वेदप्रसाद भट्टराई ‘बादल’को घटनाको छानबिन होस्, त्यसबाट पनि धेरै कुरा स्पष्ट हुन्छ ।
बि.सं २०५८ साल चैत्र ९ गते सप्तरीको रुपनी गाउँपालिकाको पउँवा गाउँमा अजबलाल यादव र वेदप्रसाद भट्टराईले सहादत प्राप्त गर्र्नुभयो । तर केही समयअगाडि त्यही ठाउँबाट दुई जना कमरेड पउँवाभन्दा करिब डेढ किलोमिटर पूर्व भटनियाँको आनन्द यादवको घरबाट गिरफ्तार हुनुभयो । प्रहरीले समात्यो । आधा, एक किलोमिटरपछि उनीहरुलाई छाडियो । घटना रहस्यमय छ । छानबिनको माग गर्दछु ।
त्यही व्यक्ति समातिन्छन् । जिल्ला प्रहरी कार्यालयमा थुनामा बस्छन् । बाहिर ताल्चा लागेको हुन्छ । अनि थुनाबाट त्यो मानिस कसरी निस्किन्छन् ? के उनी भगवान श्रीकृष्ण थिए ? यी गम्भीर विषयवस्तुहरु हुन् । यी विषयवस्तुहरुलाई गम्भीर रुपमा उठाइयो भने कहाँ कहाँसम्म लप्का पुग्छ त्यो त घटनाक्रमले बताउने छ । हाम्रो पार्टी यति हदसम्म बिग्रिसकेको छ कि यी विषयहरुप्रति हामी ध्यान नै दिदैनौँ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा बनेपछि महेन्द्र पासवान पार्टीको प्रदेश सहइन्चार्ज थिए । आजसम्म उनी केन्द्रीय सदस्यमै सीमित छन् । त्यतिखेर प्रदेश अध्यक्ष थिए प्रह्लाद बुढाथोकी । उनी आज स्थायी समिति सदस्य भएका छन् । महेन्द्र पासवानको दोष के जनयुद्धमा लाग्नु र मधेशी दलित हुनु हो ?
बारामा गोपाल ठाकुर जिल्ला इन्चार्ज थिए । अनिल श्रेष्ठ अध्यक्ष थिए । गोपाल ठाकुरले राजनीतिक नियुक्ति पाए । अनिल श्रेष्ठलाई जिल्ला इन्चार्ज बनाइयो । अनिल श्रेष्ठ सीनियर कमरेड हुन् । उनको संघर्ष र इतिहासप्रति मलाई कुनै आपत्ति छैन । सम्मान छ । उनी त्यस लायक छन् ।
तर सप्तरीमा पार्टी छाडेर जिल्ला इन्चार्ज अमर मण्डल भागे । म जिल्ला अध्यक्ष थिए । मलाई किन त्यस बेला जिल्ला इन्चार्ज बनाइएन ? बारामा पहाडी थिए । त्यसैले जिल्ला अध्यक्षलाई रिक्त जिल्ला इन्चार्ज पदमा बढुवा गरियो । सप्तरीमा म जिल्ला अध्यक्ष थिएँ । त्यसैले मलाई जिल्ला इन्चार्ज बनाइएन ।
प्रह्लाद बुढाथोकी पहाडी थिए, त्यसैले उनलाई स्थायी कमिटि सदस्य बनाइयो । बुढाथोकीका लागि नारायणकाजी श्रेष्ठले पनि लडेर स्थायी समिति समस्य बनाए । तर महेन्द्र पासवानका लागि कोही पनि लडेनन् । किनभने उनी मधेशी दलित थिए । त्यसैले स्थायी समिति सदस्य बन्न सकेनन् । पार्टीमा यी तमाम विकृतिहरु छन् ।
श्रवण यादव पार्टीको धेरै पुरानो नेता हुन् । मधेशमा रामवृक्ष र मातृका यादवपछि श्रवण यादव नै हुन् । कमरेड सूर्यनाथ रान यादवसँगै उनी बाल्यकालदेखि नै कम्युनिस्ट पार्टीमा लागेका हुन् । त्यस्तो नेतालाई बारम्बार सांगठनिक रुपमा अपमानित गरिन्छ र सत्ताको कोणबाट बहिष्करणमा पारिन्छ । यो के हो ? कुनै नेताले आफ्नी श्रीमतिलाई पद दिन मिल्छ । आफ्नो भतिजीलाई पद दिन मिल्छ । कसैको बहिनीलाई पद दिन मिल्छ । तर श्रवण यादवलाई पद दिइँदैन । किन ? के हो कारण ? यस्ता विभिन्न समस्याहरु छन् ।
माओवादीका केही नेताहरुले कार्यकर्ताहरुलाई दास ठान्छन् । आफूलाई मालिक ठान्छन् । नारायणकाजी नेतृत्वको पार्टी एकीकरण भएदेखि मधेश प्रदेशमा जनयुद्धबाट आएका नेताकार्यकर्ताहरु कति स्थापित र कति विस्थापित भए यसको गम्भीर आत्मसमीक्षा गर्न जरुरी छ । अपवादबाहेक एकता केन्द्रबाट आएका नेताहरुलाई बारम्बार जिम्मेवारी दिनु र जनयुद्धबाट आएका नेताहरु त्यसमा पनि मूलतः मधेशी नेतृत्वहरुको विकासमा ध्यान नपुर्याउनुको कारण के होला ? मधेशी राष्ट्रिय मुक्ति मोर्चालगायतका राष्ट्रिय मोर्चाहरु विघटनको अवस्थामा पुग्नुको कारण के होला ?
यहाँ पार्टीमा विभिन्न किसिमका गुटहरु छन् । तर जो कुनै गुटमा लाग्दैनन् । जसका लागि बोलिदिने पदाधिकारीमा कोही नेता छैनन् । त्यस्ता नेताको भविष्य यो पार्टीमा रहने कि नरहने ? उनीहरुको स्वाभिमान, इतिहास र सांगठनिक हैसियत सुरक्षित हुने कि न हुने ? यस्ता गम्भीर प्रश्नहरु पनि छन् ।
जसरी भारतीयहरुसँग अँग्रेजहरुले व्यवहार गर्थे माओवादी पार्टीभित्र एक थरीका नेताले आफूलाई अंग्रेज ठान्छन् र हामीमाथि औपनिवेशिक क्षेत्रको जनताजस्तो व्यवहार गर्छन् । त्यस विरुद्धको प्रतिवाद हो सप्तरी जिल्लाको हाम्रो कमिटि गठन ।
पार्टीभित्रको गलत प्रवृतिको विरुद्धमा सबै जिल्लामा साथीहरुले लड्ने छन् भन्ने मलाई लाग्दछ । मैले सप्तरी जिल्लाबाट पार्टी नेतृत्वलाई गम्भीर ध्यानाकर्षण गराको छु । विभिन्न कोणबाट नेतृत्वलाई भन्दाभन्दै जब थाकेँ । बैठक र भेटघाटमा भन्दै थिएँ । अध्यक्ष कमरेडलाई पूर्व नेकपा एकता केन्द्रका गुटगत मानसिकता बोकेका नेताहरुले विवश पारिरहेको अनुभुति हुन्छ हामीलाई । त्यसविरुद्धको प्रतिवाद हो यो ।
मधेश प्रदेश सुगम छ । तर सिंगो मधेश प्रदेशमा गरिबी बढेको छ । बेरोजगारी बढेको छ । निरक्षरता बढेको छ । उत्पादनमा ह्रास भएको छ । जल संकट बढेको छ । चुरे क्षेत्र बाहेक तल्लो बेल्टको जनताको प्राकृतिक सम्पदा माथि अधिकार कटौती गर्ने षड्यन्त्र अन्तर्गत वन सम्बन्धी ऐन, कानुन परिमार्जन हुँदैछ । यी तमात विषयवस्तुमा हामी नेकपा माओवादी केन्द्र सप्तरीका साथीहरु अब पार्टीभित्र र बाहिर सबैतिर लड्छौँ । सप्तरीमा हामीले जुन नयाँ ढंगले पार्टी वा भनौँ कमिटि निर्माण गरेका छौँ, हामी नयाँ ढंगले अगाढि बढछौँ र पार्टीभित्र तथा पार्टीबाहिर संघर्ष जारी राख्छौँ ।
माओवादी नेता उमेश कुमार यादवसँग सम्बन्धित अर्को समाचार तलको लिंक क्लिक गरेर पढ्नुहोस् ।
https://www.thebaardali.com/detail/156