काठमाडौं, फागुन १९ गते । नेपालको मधेशी समुदायको बसोवास र उपस्थिति अब आफ्नै तराईमधेशमा मात्रै सीमित छैन । उनीहरु नेपालकै पहाडदेखि हिमाल र भारतका विभिन्न शहरमा पुगेका छन् । अध्ययन र रोजगारका सिलसिलामा मधेशीहरु अमेरिका र युरोपदेखि खाडी र अरब मुलुकहरुसम्म पुगिसकेका छन् । उनीहरु आफ्नो भाषा र संस्कृतिलाई आफूसँगै सँगालेर ती देशहरु गएका छन् ।
ती देशहरुमा विभिन्न कार्यक्रम गरेर उनीहरुले प्रत्येक वर्ष आफ्नो भाषा र संस्कृतिको उत्सव मनाउने गर्दछन् । पछिल्लो समय मधेशको होली र छठजस्ता प्रमुख चाडपर्वहरुले देशभित्र मात्र होइन, मधेशीहरु बस्ने ती विदेशी भूमिहरुमा पनि चर्चित र लोकप्रिय हुन थालेका छन् ।
यही सन्दर्भमा विदेशमा बस्ने मधेशीहरुको संगठन मधेशी एकता समाजले युएईको दुबईमा प्रत्येक वर्ष होली मिलन समारोह भव्य रुपमा आयोजना गर्ने गर्दछ । एकता समाजको होली धमाका यसपालि पनि हेर्न लायक हुन्छ ।
मधेशी एकता समाजले यस वर्षको होली फागुन २० गते अर्थात् मार्च ३ तारिख आइतबारका दिन बरदुबईको अस्टुरिया होटेलस्थित एभरेस्ट क्लबमा आयोजना गर्दै छ । त्यस अवसरमा सांस्कृतिक नाचगान, होली गीत र जोगिरा गायनका साथै खानपानको पनि भव्य व्यवस्था गरिएको छ ।
त्यस कार्यक्रममा सहभागी हुन नेपालबाट मधेशकै चर्चिच कलाकारहरु दुबई पुगिसकेका मधेशी एकता समाजका संस्थापक अध्यक्ष डा. रविन्द्र कुमार यादवले बताउनुभयो ।
कार्यक्रममा ख्याती प्राप्त युवा गायक जागेश ठाकुर तथा नृत्याङ्गना निरुता शाहको विेशष प्रस्तुति रहने एकता समाजका धर्मेन्द्र गोहिबार यादवले जानकारी दिनुभयो ।
यस्तै, स्थानीय कलाकार गायक भोला पासवान तथा नृत्यतर्फ इशा, शीतल र पुनमका साथै नेपाली बोइज ग्रुपको पनि प्रस्तुति रहने छ । स्थानीय समयअनुसार बिहान १० बजे सुरु हुने सांस्कृतिक कार्यक्रम निकै आकर्षक हुने आयोजकको भनाइ छ ।