काठमाडौं, माघ ५ गते । पूर्व सिचाईं मन्त्री उमेश कुमार यादवले चार महिना १० दिन लामो सप्तरी स्वाभिमान यात्रा सुरु गर्न लाग्नुभएको छ ।
माघ ५ गते शुक्रबार मधेश बलिदानी दिवसको अवसर पारेर सप्तरी जिल्लाको सदरमुकाम राजविराजमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी पूर्वमन्त्री यादवले स्वाभिमान यात्रा सुरु गर्न लाग्नुभएको हो ।
आउँदो माघ ९ गतेदेखि सप्तरीकै बलानबिहुल गाउँपालिकाबाट स्वाभिमान यात्रालाई स्थलगत रुपमा अगाडि बढाउने उहाँको तयारी छ ।
यात्राको समापन आगामी जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको अवसरमा गरिने उहाँको सहयोगीले बताए ।
उमेश यादव मुलुकमा आमूल परिवर्तनको लागि भएको माओवादी जनयुद्धमा सहभागी हुनुहुन्थ्यो । हाल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहनुभएका यादव सप्तरीको तत्कालीन क्षेत्र नम्बर ३ बाट विजयी भएर दोस्रो संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
त्यसपछि उहाँ सिचाईं मन्त्री बन्नुभएको थियो । संविभानसभा सदस्य रहदा र सिचाईं मन्त्रालयको कार्यभार सम्हाल्दा उहाँले सप्तरी जिल्लामा विकास निर्माणका प्रशस्त कार्यहरु गर्नुभएको थियो ।
शुक्रबार बिहान द बार्दली टीमसँग कुरा गर्दै नेता यादवले सप्तरीको गौरवपूर्व इतिहास र संस्कृतिको संरक्षणदेखि जिल्लाको विकास र समृद्धिमा देखिएका चुनौती र सम्भावित अवसरहरुबारे जिल्लाका जनतासँग छलफल र मन्थन गर्न स्वाभिमान यात्रा सुरु गर्न लागिएको बताउनुभयो ।
सामन्ती व्यवस्थामाजस्तो कथित रुपमा कुनै नेतासँग जादुको छडी भएजस्तो वर्तमान संघीय गणतान्त्रिक कालमा जादूको छडी कसैसँग नभएको बताउँदै यादवले सप्तरीमा कृषि, शिक्षा र रोजगार निर्माणदेखि जिल्लाको समग्र विकास र समृद्धिको सवालमा आमजनतासँग एकाकार भएर आफू अगाडि बढ्ने बताउनुभयो ।
‘हामी सबै मिली सप्तरीको विकास र समृद्धिका लागि अगाडि बढौँ’ भन्ने आह्वान गर्दै उहाँले आमजनता, सबै राजनीतिक दलहरुका नेताकार्यकर्ता, स्वतन्त्र बुद्धिजीवि, नागरिक समाजका अगुवा, विभिन्न पेशाकर्मी र सञ्चारजगतलाई स्वाभिमान यात्रामा सहयोग र सद्भाव प्रकट गर्न आग्रह गर्नुभएको छ ।