काठमाडौं, पुस १८ गते । नेपालका प्रवासी मधेशीहरुको छाता संस्था मधेशी एकता समाजको संगठन कतारमा विस्तार भएको छ । शिव कुमार महतोको नेतृत्वमा नयाँ शाखा गठन गरिँदै मधेशी एकता समाजको संगठन कतारमा विस्तार गरिएको हो ।
नवगठित शाखाको उपाध्यक्षमा संजीव नायक, अर्का उपाध्यक्षमा अजित ठाकुर, महासचिवमा चन्द्रवीर यादव, सचिवमा जयप्रकाश यादव, कोषाध्यक्षमा गौतम शर्मा, सहसचिवमा रवीन्द्र उदास माली र मिडिया कोर्डिनेटरमा रामएकवाल रामलाई चयन गरिएको छ ।
महतोको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेर मधेशी एकता समाज, कतारको प्रथम बैठक बसेको थियो भने त्यस अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।
![](https://www.thebaardali.com/uploads/editor/2024-01-03/0119038747716c3b3-e5a5-435b-bf05-449a40cc5d88.jpg)
शुक्रबार सनैयास्थित लालीगुँरास रेस्टुरेन्टको सभाहलमा एकता समाजका संस्थापक संयोजक डाक्टर रविन्द्र कुमार यादवको विशेष आतिथ्य र संजीव नायकको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजसेवी गोविन्द झा, सरयुग यादव, अभय ठाकुर, मनिष यादव, जमिर नदाफ र अजित ठाकुरलगायत कतारमा स्थापित विभिन्न जातीय, जिल्ला तथा प्रदेशका संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, समाजसेवी, बुद्धिजीवि र पत्रकारहरुको उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर यादवले मधेशी एकता समाजले संसारभरि फैलिएका मधेशी प्रवासीहरुलाई मधेश हितका लागि एकताको सुत्रमा बाँधेर मधेशको सांकृतिक पहिचान जोगाउन र मधेशमा रहेका कुरीति अन्धविश्वासविरुद्ध लड्न काम गरिरहेको विचार व्यक्त गर्नुभयो ।
![](https://www.thebaardali.com/uploads/editor/2024-01-03/011930286bf4553d0-fb0e-4253-9851-7571c4db80ae.jpg)
यस्तै मधेशमा शिक्षाको स्तरमा उन्नति, मधेशबाट हुने श्रम आप्रवासनलाई कम जोखिमपूर्ण बनाउन र श्रमिकलाई शिपमूलक तालिम दिई विप्रेषणको गुणवत्ता कायम गर्नेजस्ता कार्यमा एकता समाजले सकारात्मक परिवर्तनको प्रयास गरिरहेको डा. यादवले बताउनुभयो । यस अतिरिक्त, श्रमिकहरुलाई परदेशमा समस्या पर्दा उद्धार गर्ने, मद्दत गर्ने, मधेशमा प्राकृतिक विपत्तिको बेला सहयोग गर्ने, मधेश आन्दोलनका सहिद परिवारलाई सहयोग गर्ने, मधेश मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न मद्दत गर्नेजस्ता कार्यमा समेत संस्था क्रियाशील रहेको यादवको भनाइ थियो ।
त्यस अवसरमा कार्यक्रममा उपस्थित सहभागी तथा वक्ताहरुले नयाँ वर्ष २०२४ को अवसरमा शुभकामना अदान प्रदान समेत गरेका थिए ।
![](https://www.thebaardali.com/uploads/editor/2024-01-03/011951421eaaee707-dd05-418d-8f40-946905d9c376.jpg)
युएई सरकारबाट गोल्डेन भिसा पाउनुभएका पहिलो नेपाली तथा वरिष्ठ चिकित्सक डाक्टर रविन्द्र कुमार यादव, युएईमा भूउपग्रह क्षेत्रमा कार्यरत वैज्ञानिक मुकेश झा, व्यवस्थापक तनवीर आलम, भारतमा कार्यरत दिपेन्द्र चौबे, सुजित ठाकुर अस्ट्रेलियामा कार्यरत इन्जिनियर रमेश सिंह, बेलायतमा कार्यरत प्रसिद्ध चित्रकार गोविन्द साह आजाद र नेपालमा सामाजिक क्षेत्रमा कार्यरत डा. बब्बी सिंहको प्रयासले सन् २०२१ मा युएईबाट मधेशी एकता समाजको शुरुवात भएको थियो ।
![](https://www.thebaardali.com/uploads/editor/2024-01-03/012019198ec7c79ee-b9c0-471b-8cc9-9a7ab8147ff1.jpg)