गत चैत ६ गते, काठमाडौंको नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिने क्रममा माननीय सांसदहरुको बोल्ने क्रम चल्दै थियो । आफ्नो पालो आएपछि अमेरिकाको नासामा वैज्ञानिकको रुपमा काम गरेको (झुठो गफ दिने) सीके राउतले आफ्नो पछिल्लो अनुसन्धानबाट नयाँ तथ्य पत्ता लगाए र संसदमा उद्घोष गरे – नेपालमा पहिले पनि संघीयता थियो बाइसेचौबिसे राज्यहरुको रुपमा । उनले दाबी गरे – नेपालको लागि संघीयता कुनै नौलो कुरा होइन ।
यसरी डाक्टर साहेबले नेपालमा संघीयता स्थापनाका लागि भीषण आन्दोलन गरेको मधेशी जनताको भावनालाई आघात मात्रै गरेनन् । सेना र प्रहरीको डण्डाबाट डराएर केपी ओलीसँग ११ बुँदे सम्झौता गरेका डरपोक राउतले तीन तीन पटक भएका मधेश आन्दोलनका सयौं अमर सहिद र हजारौं ज्यूँदा सहिदहरुलाई अपमानित समेत गरे ।
उक्त दिन संसदमा डाक्टर राउतले प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिए । हप्तैपिच्छे आफ्नो बोली र व्यवहार फेर्ने राउतले नेपालमा संघीयतालाई पुनर्स्थापित गरेको भन्दै माओवादी अध्यक्ष प्रचण्डलाई धन्यवाद दिए । मुलुक विखण्डन अभियानका नाइके राउतले त्यसदिन संघीयता स्थापनाको लागि धन्यवाद मधेशका जनता, मधेश आन्दोलनका सहिदहरु र मधेशी नेताहरुलाई दिनुपर्दथ्यो । मधेश जनविद्रोहका नायक उपेन्द्र यादवलाई धन्यवाद दिन मन नलागे राउतले कम्तीमा महन्थ ठाकुर र राजेन्द्र महतोहरुलाई धन्यवाद दिनुपर्दथ्यो ।
सीके राउतले संघीयता पुनर्स्थापनाका लागि धन्यवाद त्यो प्रचण्डलाई दिए । जुन प्रचण्ड र जसको माओवादी पार्टीले जनयुद्धको बेला जातीय स्वशासनको मुद्दा उठाएका थिए । तर आफ्ना नेता, कार्यकर्ता र जनताबीच संघीयताको भ्रम छर्दै जातीय मोर्चाहरु बनाएका थिए । तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले संघीयताप्रति अडान नलिएपछि नै संघीयताबिनाको अन्तरिम संविधान जारी गरियो । पछि मधेशवादी भएका तत्कालीन कांग्रेस नेता महन्थ ठाकुर र सद्भावना नेता राजेन्द्र महतो तत्कालीन सात दलीय गठबन्धनमा मौन बसेर त्यो अन्तरिम संविधान घोषणाको तमासा हेरिरहे ।
फलतः तत्कालीन फोरमका अध्यक्ष उपेन्द्र यादव र उनका साथीहरुले अन्तरिम संविधान जलाएर मधेश विद्रोहको उद्घोष गरे । अन्तरिम संविधानमा संघीयताबारे प्रचण्डले अडान लिएको भए मधेश विद्रोह हुने थिएन । तर थप मन्त्रालय पाउने लोभमा हो कि के स्वार्थमा हो, त्यो दिन संसदमा सीके राउतले प्रचण्डलाई संघीयताको पुनर्स्थापनाका लागि धन्यवाद दिए ।
![](https://www.thebaardali.com/uploads/editor/2023-03-27/091955978ck-raut2.jpg)
मधेशका लागि सीके राउत किन अलि बढी नै हानीकारक छन् भने उनीसँग विचार र मुद्दा छैन । उनी पाखण्डी छन् । बेलाबेलामा स्टन्ट पनि गर्छन् । चैत्र ६ गते संसदमा उनले संघीयता पुनर्स्थापित गरेकोमा प्रचण्डलाई धन्यवाद दिए । तर दुई महिनाअघि माघ ५ गते संसदको रोस्ट्रमबाटै उनले मधेश बलिदानी दिवसको अवसरमा मौन धारण गरे र संसदमा उपस्थित सांसदहरुलाई पनि मौन धारण गर्न आग्रह गरे । केही नेताहरुले त्यतिखेर उनलाई साथ दिए । तर संसदको मर्यादाको हवाला दिँदै प्रधानमन्त्री प्रचण्डलगायतका नेताहरुले उनको आग्रहमा मौन धारण गरेनन् ।
यहाँ सबभन्दा महत्त्वपूर्ण प्रश्न के छ भने यदि माओवादी नेता प्रचण्ड र माओवादी आन्दोलनले नेपालमा संघीयता स्थापना वा पुनर्स्थापना गरेका हुन् भने सीके राउतले गत माघ ५ गते मधेश बलिदानी दिवसको अवसरमा संसदमा किन मौन धारण गरे ? राउतले जनयुद्ध दिवसको अवसरमा फागुन २ गते मौन धारण गरेर वा यस्तै कुनै कार्यक्रम गरेर प्रचण्डलाई किन धन्यवाद दिएनन् ? यदि मधेशी जनताले पटक पटक आन्दोलन गरेर मुलुकमा संघीयता स्थापना गरेका हुन् भन्ने सत्यमा टेकेर राउतले गत माघ ५ गते संसदमा मौन धारण गरेका हुन् भने उनले मुलुकमा पहिले पनि बाइसेचौबिसे प्रादेशिक राज्यहरु थिए भनेर किन भने ?
![](https://www.thebaardali.com/uploads/editor/2023-03-27/092017914ck-raut3.jpg)
राजनीतिक इतिहासको सतही ज्ञान भएका सिके राउतले दाबी गरेजस्तै भौगोलिक एकीकरणभन्दा पहिले नेपालमा बाइसेचौबिसे प्रादेशिक राज्यहरु थिएनन् । ती सबै छरिएर रहेका छुट्टाछुट्टै सामन्ती राज्यहरु थिए । जसलाई पृथ्वी नारायण शाह र अन्य शाह राजाहरुले सैनिक अभियानद्धारा गोरखा राज्यमा गाभे र पछि विस्तारित भूमिलाई नेपाल भनियो । संविधान निर्माणको बेला चित्रबहादुर केसी र अन्य संघीयताविरोधी नेताहरुले मधेशी नेताहरुले नेपाललाई संघीयतामा लगेर बाइसेचौबिसे राज्यझैँ मुलुकलाई विखण्डन गर्न चाहेका छन् भनेर आरोप लगाउने गर्दथे । संघीयताविरोधीहरुको बाइसेचौबिसे राज्यसम्बन्धी त्यही थेगोलाई पैचो लिएर सीके राउतले चैत ६ गते संसदमा संघीयतासम्बन्धी गलत धारणा राखे जुन स्वागत योग्य छैन । बरु हास्यास्पद छ ।
सीके राउत कुनै मुद्दा र विचारमा स्थिर छैनन् । उनले कहिले स्वराज भने । कहिले नेपालबाट अलग मधेश देश बनाउने भन्दै मधेशी जनताको भावनाविरोधी गतिविधि गरे । उनले बि.सं २०७४ को निर्वाचनमा मतपत्रको कोठाबाहिर मतदान गर्ने अभियान थाले । जसबाट मधेशका मतदाता दिगभ्रमित भए । उनी संघीयता र पहिचानजस्ता मधेशका मुद्दाप्रति इमानदार र वफादार छैनन् । राउतले गत चुनावको बेलादेखि नै काठमाडौंका सञ्चारमाध्यम र टेलिभिजनहरुमा पहिचानभन्दा विकास आफ्नो प्रमुख एजेण्डा रहेको बताउँदै आएका छन् ।
रविन्द्र मिश्र सुरुमा विचारमा स्पष्ट थिएनन् । अहिले राजावादी भए । त्यसैगरी रवि लामछिाने पनि विचार र सिद्धान्तमा स्पष्ट छैनन् । रवि लामिछाने पनि गणतन्त्र र संघीयताको विरोध गर्दै राजावादी हुने सम्भावना प्रबल छ । त्यस्तो रवि लामिछानेसँग सीके राउतको साँठगाँठ देखिन्छ । अहिले लामिछाने के कुरामा स्पष्ट छन् भने उनले संघीयतालाई मान्दैनन् । त्यसैले उनको पार्टी हालैको प्रदेश निर्वाचनमा सहभागी भएन । त्यस्ता संघीयताविरोधीसँग राउतको कुरा किन मिल्छ ?
मान्छेहरुले शंका गर्न थालेका छन् । राउत र लामछिानेले एकअर्काको प्रशंसा गर्छन् । कोही भन्छन्– उनीहरु पपुलिस्ट राजनीति गर्छन् । कोही भन्छन्–उनीहरु दुवै बाहिरबाट सञ्चालित छन् । कोही भन्छन्– उनीहरु दुवै जना जुन देशबाट फर्किएर आएका छन् । त्यही देशमा उनीहरुका मालिक छन् । कोही भन्छन् –उनीहरु ती मालिकबाट सञ्चालित छन् । त्यसैले उनीहरु देश र मधेशका लागि खतरनाक छन् ।
![](https://www.thebaardali.com/uploads/editor/2023-03-27/092108259ck-raut4.jpg)
सीके राउतको रवि लामिछानेसँग मात्र होइन, रविन्द्र मिश्रसँग पनि राम्रै सम्बन्ध छ । मिडियामा आएका समाचारहरुका अनुसार सीके राउतले राजावादी रविन्द्र मिश्रको पनि प्रशंसा गर्ने गर्दछन् । त्यसैले सीके राउत अझ बढी खतरनाक छन् देश, मधेश र संघीयताका लागि ।
सीके राउत र उनको पार्टी कतिसम्म अस्थिर र पदलोपुप छन् भने अहिलेको प्रचण्ड सरकारमा आफ्नो भागमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको ढोल पिटे । पछि खानेपानी मन्त्रालय पाएपछि मधेश आन्दोलन गर्ने र ठूला पार्टीको हेपाहा रबैयाको मधेशले प्रतिकार गर्ने धम्की दिए । तर भित्रभित्रै आफ्नो सहोदर दाइलाई राष्ट्रिय योजना आयोगको सदस्यमा ‘सेट’ गरेर अब्दुल खानलाई खानेपानी मन्त्रालय सम्हाल्न पठाए । उद्योग मन्त्रालयमा दाबी गरेर खानेपानीजस्तो सानो मन्त्रालयमा चित्त बुझाउनु सीके राउतको पदलोलुप्ता होइन ?
मधेशलाई सबैभन्दा ठूलो क्षति नेपाललाई विखण्डन गर्ने राउतको मुर्खतापूर्ण अभियानले गर्यो । राउतबाहेक एक जना पनि मधेशी जनता अलग मधेश राष्ट्रको पक्षमा कहिल्यै पनि थिएन । तर संविधान निर्माणको बेला उनले अलग देशको माग चर्काउँदा संघीयताविरोधीहरुलाई फाइदा र मधेशलाई घाटा भयो । सीके राउतकै विटण्डाका कारण कांग्रेस, एमाले र चित्रबहादुर केसीहरुले संघीयतामा मुलुकलाई लानै चाहेनन् । सीके राउतकै उदण्डताका कारण मधेशीहरुले भविष्यमा देश टुक्र्याउने छन् भन्दै ठूला पार्टीहरुले मधेश आन्दोलनको भावनाअनुरुप प्रदेशहरु बन्नै दिएनन् ।
सीके राउतलाई बुझिनसक्नु छ । बुद्ध, मण्डेला र गान्धीको नाम झुन्डयाएर स्वतन्त्र मधेश गठबन्धन नामक संगठन स्थापना गरे । अलग मधेशको नारा लगाए । तर पुलिसले केही महिना जेलमा थुनेपछि राउतले हारगुहार गरे र राज्यसँग ११ बुँदे सम्झौता गर्दै आत्मसमर्पण गरे । उनको अलग देशको मागमा कुनै मधेशी सहमत थिएन । राउतले जति चाँडो आत्मसमर्पण गरे, एकदमै ठिक गरे । तर एकातिर बुद्ध, गान्धी र मण्डेलाको तस्वीर झुन्ड्याएर अभियान चलाए । अर्कोतिर केही महिनाको जेल बसाइबाटै डराएर आत्मसमर्पण गर्नुले उनको हल्का र अस्थिर चरित्रको चित्रण गर्दछ ।
![](https://www.thebaardali.com/uploads/editor/2023-03-27/092128643ck-raut5.jpg)
यी सबै कारण र प्रमाणहरुले के देखाउँछ भने सुरुदेखि नै सीके राउतका बोली, व्यवहार र गतिविधि देशविरोधी मात्रै होइन, मधेशविरोधी पनि छन् । उनी महत्त्वाकांक्षी र आत्मकेन्द्रित छन् । उनको कुनै राजनीतिक विचार र एजेण्डा छैन । विभेदविरुद्धको मधेश आन्दोलनमा उनको कुनै योगदान छैन । बरु उनको अस्थिर बोली, उट्पट्याङ व्यवहार र रहस्यमय गतिविधिले मधेश आन्दोलन र मागलाई घाटा नै भएको छ । आफ्नो अपरिपक्वता र विचलनका कारण उनले विगतका १० वर्ष त्यसै खेर फालेका छन् ।
आफ्नो महत्त्वाकांक्षा पूरा गर्न र चर्चामा रहन उनी जे पनि गर्छन् । सीके राउतका पछिल्ला सबै बोली र व्यवहारले पनि के स्पष्ट गर्दछ भने उनी पहिचान र संघीयताप्रति प्रतिबद्ध छैनन् । गणतन्त्रसहितका परिवर्तनका एजेण्डाहरुप्रति पनि उनी इमान्दार छैनन् । त्यसैले भविष्यमा उनी राजावादी हुन पनि बेर लाउने छैनन् ।