काठमाडौं, माघ १६ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको यही अवस्था र शासक जाति र वर्गको यस्तै चिन्तन एवं चरित्र रहिरहे मुलुकमा अर्को भयानक जनविद्रोह हुनसक्ने चेतावनी दिएका छन् ।
माघ १६ गते सोमबार बिहान फेसबुकमा लेख्दै अध्यक्ष यादवले त्यस्तो जनविद्रोहको अवस्था आए त्यसलाई कसैले सम्हाल्न नसक्ने खबरदारी पनि गरेका छन् ।
प्रधानमन्त्री, मन्त्री, पार्टी अध्यक्ष तथा नेताहरुले सहिद दिवसको अवसरमा शुभकामना दिइरहँदा र सहिदहरुलाई सम्झिरहँदा अध्यक्ष यादवले पशुपतिनाथले शासक वर्गलाई सद्बुद्धि प्रदान गरुन् भन्दै कांग्रेस र कम्युनिस्ट पार्टीका नेताहरुप्रति व्यङ्ग गरेका छन् ।
सबै वर्ग, क्षेत्र र समुदायको बलिदान र संघर्षबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि राज्यका निकायहरुमा सबै जात, वर्ग र समुदायलाई समेटेर समानुपातिक समावेशी प्रतिनिधित्व नहुने गरेकोप्रति यादवले घोर असन्तुष्टि व्यक्त गरेका छन् ।
अध्यक्ष यादवले न्यायालय, अख्तियार, महालेखा परीक्षक, निर्वाचन आयोग, मानव अधिकार आयोग, वित्त आयोग, महिला आयोग र समावेशी आयोगलगायतका संवैधानिक निकायहरुमा समानुपातिक समावेशी प्रतिनिधित्व नगरिएको प्रवृतिप्रति आक्रोश पनि प्रकट गरेका छन् ।
मुलुकको आधाभन्दा बढी जनसंख्या ओगटेने मधेशी, थारु, मुस्लिम, दलित र जनजातिलाई ती संस्था एवं निकायमा समावेशीकरण नगरी वञ्चित, उपेक्षित एवम् प्रतिनिधित्वविहीन बनाएर राष्ट्रिय एकता जोगाउन कसरी सम्भव होला भन्दै उनले प्रश्न पनि गरेका छन् ।
‘यी निकायहरूमा समावेशीकरण कहिल्यै किन गरिँदैन ? केही शासक वर्ग र जातिको जातीय अहंकार र नस्लवादी चिन्तन, व्यवहार र चरित्र यो हैन र ?,’ यादवले फेरि पनि प्रश्न गरेका छन् ।