काठमाडौं, माघ ७ गते । यो सरकार कसको हो ? यो दस वर्ष जनयुद्ध हाँकेका माओवादीका कमाण्डर प्रचण्डको सरकार होइन । यो नेपालका उत्पीडित जातजाति र असहाय वर्गका लागि लडेका माओवादी अध्यक्ष प्रचण्डको सरकार होइन । यो मार्क्स, लेनिन र माओवाद पढेका क्रान्तिकारी नेता प्रचण्डको सरकार होइन । यो बाहुन परिवारमा जन्मिएका परम्परावादी पुष्पकमल दाहालको सरकार हो । यो पञ्चायती व्यवस्थामा हुर्किएका र महेन्द्रमाला कण्ठस्थ पारेका महेन्द्रवादी पुष्पकमल दाहालको सरकार हो ।
पुस १० गते ओली निवास बालकोटमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भयो । त्यही बेला प्रचण्डलाई एमाले अध्यक्ष ओलीले दौरा सुरुवाल लगाउन भने । प्रधानमन्त्रीमा दाबी पेश गर्न प्रचण्ड राष्ट्रपति कार्यालय जाँदै थिए । त्यहीबेला प्रचण्डलाई रवि लामिछानेले दौरा सुरुवाल पहिरिन आग्रह गरे । शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्तिपत्र दिँदै थिए । त्यही बेला राष्ट्रपति भण्डारीले सपथ ग्रहण समारोहमा प्रचण्डलाई आफूले दौरा सुरुवालमा हेर्न चाहेको इच्छा जाहेर गरे ।
प्रचण्डलाई अरु के चाहियो । उनी यही अवसरको खोजीमा थिए । प्रचण्डले आफूले उपयुक्त समयमा दौरा सुरुवाल लगाउँछु भनेर विगतमा बारम्बार आफ्ना पार्टीका नेताहरुलाई भनेकै थिए । प्रचण्डको लागि उपयुक्त मौका यही थियो । एकै धर्म, एकै समुदाय, एकै जात र एउटै पहिरनका यति धेरै जना ठूला व्यक्तिले प्रचण्डलाई दौरा सुरुवाल लगाउन आग्रह गरे । त्यसको भोलिपल्ट अर्थात् पुस ११ गते सम्पन्न सपथ ग्रहण समारोहमा प्रचण्ड प्रचण्ड नभएर पुष्पकमल दाहाल बनेर सहभागी भए । अर्थात् उनी आफ्नो सार्वजनिक जीवनमा पहिलो पटक दौरा सुरुवाल लगाए । यसरी प्रचण्ड भौतिक र साक्षात् रुपमै एकल जातीय अवतारमा अवतरित भए ।
विख्यात विश्लेषक सीके लालले प्रचण्डले भविष्यमा कुनै दिन दौरा सुरुवाल लगाउने छन् भनेर केही पहिले किटानी आकलन गरेका थिए । सीके लालले भविष्यवाणी गरेको पाँच वर्ष नबित्दै प्रचण्डले आफ्नो स्वजातीय पोशाक लगाए । सीके लाल सही साबित भए । हालसालै केहीले अनुमान गरेका थिए, प्रचण्डले सपथ ग्रहण कार्यक्रममा मात्रै दौरा सुरुवाल लगाउने छन् भनेर । तर उनीहरु झुटो साबित भए । उनीहरुको अनुमानविपरीत प्रचण्डले बडो सहजताका साथ सपथ ग्रहण समारोहदेखि निरन्तर दौरा सुरुवाल लगाउन थालेका छन् । अधिकांश कार्यक्रममा प्रचण्ड अचेल दौरा सुरुवालमै देखिन थालेका छन् ।
विगतमा प्रधानमन्त्री बन्न लाग्दा प्रचण्डलाई दौरा सुरुवाल लगाउन नारायणकाजी श्रेष्ठहरुले उक्साउँथे । गिरिराजमणि पोखरेलहरुले कर गर्थे । टोपबहादुर रायमाझीहरुले दबाब दिन्थे । तर माओवादीका मधेशी नेता मातृका यादव एक्लैले त्यसको घोर विरोध गर्थे । मातृका एक्लैले प्रचण्डलाई उनको आफ्नो जातीय पोसाक नलगाउन खबरदारी गर्थे । तर यस पटक प्रचण्डलाई संसदीय दलको बैठकमा रोक्ने कोही भएन । चुनाव हारेकाले दलको बैठकमा यसपालि मातृका यादव छँदै थिएनन् । त्यसैले प्रचण्डले संसदीय दलको बैठकबाट आफूले दौरा सुरुवाल लगाउने निर्णय गराए । यसरी माओवादी पार्टीभित्रका नेताहरुको कर र पार्टीबाहिरका नेताहरुको लहरमा पुष्पकमल दाहालले दौरा सुरुवाल लगाए । उनले आफ्नो कद फेरि घटाए ।
जनयुद्धमा हुँदा प्रचण्ड अन्तर्राष्टिय नेता थिए । सर्वहारा वर्गका मसिहा थिए । त्यही मर्म र मान्यताअनुसार उनी सोच्दथे । त्यही मर्म र मान्यताअनुसार पोसाक पनि लगाउँथे । शान्तिप्रक्रियामा आएपछि प्रचण्डले भादगाउँले टोपी लगाए । अन्तर्राष्ट्रिय नेताबाट राष्ट्रिय नेतामा झरे । तेस्रो पटक प्रधानमन्त्री बन्दा दौरा सुरुवाल लगाए । राष्ट्रिय नेताबाट स्वजातीय नेतामा झरे ।
यो त्यो प्रचण्डको सरकार होइन । यो यो पुष्पकमल दाहालको सरकार हो । जसले स्वजातीयजनलाई खुसी पार्न दौरा सुरुवाल लगाएका छन् । दुई आँखाले हेर्दा यो दौरा सुरुवाल लगाउनेहरुको सरकार हो । तर सारमा यो दौरा सुरुवालधारीहरुको सरकार होइन । अर्को शब्दमा भन्नुपर्दा रुपमा यो दौरा सुरुवाल लगाउनेहरुको सरकार हो । तर सारमा यो दौरा सुरुवालवालाहरुको सरकार हो । दौरा सुरुवालवाला र दौरासुरुवालधारीबीच आधारभूत भिन्नता छ । दौरा सुरुवालवाला र दौरा सुरुवालधारीबीचको परिभाषा नै फरक छ । जसको जातीय पोशाक दौरा सुरुवाल हो । उनीहरु दौरा सुरुवालवाला हुन् । जसको जातीय पोसाक दौरा सुरुवाल होइन तर दबाबमा वा लोभमा दौरासुरुवाल लगाएका छन् । उनीहरु दौरासुरुवालधारी हुन् । यो दाहाल र ओलीको सरकारमा दौरा सुरुवालधारीहरु पनि छन् तर एकदमै नगन्य । उनीहरुको केही चल्दैन । उनीहरुले सिन्को पनि भाँच्न सक्दैनन् ।
यो सरकारमा दौरा सुरुवालवालाहरुको दुई तिहाई बहुमत मात्रै छैन । यो सरकारमा उनीहरुकै हालीमुहाली छ । उनीहरुकै दबदबा छ । उनीहरुकै एकाधिकार छ । उनीहरु एकदमै नस्लीय छन् । उनीहरु अत्यन्तै जातिवादी छन् । त्यसैले दौरा–सुरुवालवाला–यो–सरकारबाट बहुसंख्यक जनताले, आम नेपाली जनताले के आस गर्ने ? त्यसैले यो एकल जातीय सरकारबाट पहाडका दलित, जनजाति र तराईमधेशका थारु, मुस्लिम, मधेशीले के अपेक्षा गर्ने ?
१० वर्षे जनयुद्ध, दोस्रो जनआन्दोलन र मधेश आन्दोलनले नयाँ नेपालको एउटा नयाँ खाका कोरेका थिए । एउटा सुनौलो सपना देखेका थिए । त्यो खाका र सपना सबै जात, जाति, वर्ग, धर्म, समुदाय र लिंग अटाउने खालको एकदमै समावेशी र न्यायपूर्ण थियो । त्यो खाका र सपना सबैले समान अधिकार, अवसर र इज्जत पाउने किसिमको अत्यन्तै सहिष्णु र प्रगतिशील थियो । तर नयाँ नेपालको त्यो सपनाको हत्या तीव्र गतिमा हुँदैछ ।
जुन दिन प्रचण्डले आफ्नो ग्रह, दशा शान्त पार्न भैँसी पूजा गरेका थिए । नयाँ नेपालको सपनाको हत्याको सुरुवात त्यही दिनदेखि भएको थियो । त्यो नयाँ नेपालको सपनाको अन्त्य प्रचण्डको अवसानसँगै भइसकेको छ । प्रचण्डले नयाँ नेपालको सपनाको चिहानमाथि दौरा सुरुवाल लगाएर प्रधानमन्त्रीको सपथ खाएका छन् । दोस्रो संविधानसभाको निर्वाचनपछि प्रतिक्रान्ति निरन्तर जारी छ । यस पटकको प्रतिक्रान्ति एक पटक फेरि विगतका क्रान्तिकारी नेता प्रचण्डकै दौरासुरुवाल काण्डबाट भएको छ । त्यसैले राष्ट्रिय रुपमा जारी प्रतिक्रान्तिको गतिलाई उल्टयाउन अब ढिलो गर्नु हुँदैन । मधेशी, जनजाति, थारु, मुस्लिम र महिलालगायत आमजनता अब उठिहाल्नुपर्छ । प्रतिक्रान्तिविरुद्धको आन्दोलन जन्माउन उनीहरुले तयारी थालिहाल्नुपर्दछ ।